अछाम:अछामको मंगलसेन नगरपालिकाले आफ्नै लोगो तयार गर्ने भएको छ। नगरपालिकाले सोमबार लोगो निर्माणका लागि सार्वजनिक सूचना गर्दै प्रतिस्पर्धात्मक रूपमा डिजाइन प्रस्ताव आह्वान गरेको छ।
नगरपालिकाको भौगोलिक अवस्था, जनजीवन, ऐतिहासिक पृष्ठभूमि, प्राकृतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक पहिचान समेटिने गरी लोगो निर्माणका लागि इच्छुक व्यक्ति, समूह वा डिजाइनरहरूले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र लोगो डिजाइन पेश गर्ने आह्वान गरेको छ।
लोगोमा नगरपालिकाको नाम, आदर्श वाक्य “समृद्धिको मार्गमा मंगलसेन”, नेपालको झण्डा तथा मंगलसेन नगरपालिका स्थापना भएको वर्ष अनिवार्य रूपमा समावेश गर्नुपर्ने उल्लेख गरिएको छ। मूल्यांकन समितिबाट उत्कृष्ट भएको लोगोलाई ३० हजार पुरस्कार प्रदान गरिने नगरपालिकाले जनाएको छ।










