Advertisement
SKIP THIS
मंगलसेन नगरपालिकाले भन्यो:मध्यपहाडि राजमार्गमा अतिक्रमण गरि बनाईएका संरचना हटाउनु

अछाम:मंगलसेन नगरपालिका क्षेत्रभित्र पर्ने मंगलसेन–साफेबगर सडक अन्तर्गत मध्यपहाडी राजमार्गको मंगलसेन–ठाठीखाँद सडक खण्डको मुख्य बजार क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन नगरपालिकाले आग्रह गरेको छ।

नगरपालिकाले सूचना जारी गर्दै सडक क्षेत्रमा अवैध रूपमा निर्माण गरिएका घर, टहरा, पसल, ग्यारेजलगायतका संरचना तत्काल हटाउन सम्बन्धित सबैलाई जानकारी गराएको हो। यस्ता संरचनाका कारण सवारी आवागमनमा अवरोध उत्पन्न हुनुका साथै दुर्घटनाको जोखिमसमेत बढ्दै गएको नगरपालिकाको भनाइ छ।

साथै, सडकको छेउछाउमा माटो, बालुवा, ढुंगा थुपार्ने, ग्यारेजबाट निस्कने मोबिललगायतका तेलजन्य पदार्थ सडकमा पोख्ने, घर तथा पसलबाट निस्कने फोहोर सडक वा नालीमा फाल्ने जस्ता कार्य नगर्न नगरपालिकाले सबै स्थानीयवासी तथा बजारबासीलाई अनुरोध गरेको छ।

यस्ता गतिविधिले बजार क्षेत्र दुर्गन्धित हुनुका साथै सवारी दुर्घटनाको सम्भावना बढ्ने भएकाले सचेत नागरिकको भूमिका निर्वाह गर्न नगरपालिकाले आग्रह गरेको छ। यदि जारी गरिएको सूचनालाई बेवास्ता गर्दै सडक अतिक्रमण गर्ने, जथाभावी फोहोर फाल्ने वा सडक सतह बिगार्ने कार्य जारी राखिएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने चेतावनीसमेत दिइएको छ।

स्थानीय सरकारको सूचनालाई गम्भीरतापूर्वक लिन प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारीले सबैमा अनुरोध गर्नुभएको छ।

तपाईको प्रतिक्रिया