अछाम: अछामको दुर्गम गाउँमा रहेको एक विद्यालयका विद्यार्थीले कोठ, स्लाइनटको पाइप लगायतका घरेलु सामान प्रयोग गरेर डोजर, गाडी र हेलिकोप्टर बनाएका छन्। मेल्लेख गाउँपालिका वडा नम्बर ६ मा रहेको नन्देश्वरी माध्यfमिक विद्यालय कक्षा १० मा अध्ययनरत सागर टमट्टाले बनाएका उपकरणबाट विद्यालय र गाउँलेहरू समेत आश्चर्यमा परेका छन्।
विद्यालयले विज्ञान विषयको प्रयोगात्मक परीक्षाका लागि केही सामग्री तयार गर्न दिएका सागरले एकाएक विभिन्न नयाँनयाँ उपकरण तयार गरे पछि शिक्षकहरू समेत अचम्मित बनेका हुन्। १६ वर्षका टमट्टाले स्थानीय स्तरमा पाइने पुराना फाटेको चप्पल, रेडियो, टेलिभिजन, स्लाइनको पाइप, चाउचाउको खोल तथा लाइटका सामग्री प्रयोग गरेर यस्ता उपकरण तयार गर्नु भएको छ।
सागरले डोजर, बस, जीप एम्बुलेन्स, हेलिकोप्टर तयार गर्नु भएको छ। टीकटक हेरेको भरमा उपकरणहरु तयार गरेको सागरले बताउनु भयो। ‘स्कुलमा विज्ञानमा प्रयोगात्मक गर्न पाइँदैन, मलाई विज्ञानमा पढेका विषय बनाउन मन लाग्छ। ’ सागरले भन्नु भयो, ‘टिकटकमा म जस्तै कुनै युवाले बनाएको भिडियो हरेको थिएँ। त्यही आधारमा मैले पनि बनाएको हुँ।’
एसईईको तयारी गरि रहनु भएका सागरले पास भएपछि इलोक्ट्रोनिक ईन्जिनिर पढेर प्रयोग गर्न मिल्ने गरी गाडी, डोजर बनाउने इच्छा राख्नु भएको छ। ‘यो ज्ञानलाई म वास्तविकतामा लागु गर्न चाहान्छु।’ सागरले भन्नुभयो ‘तर घरको आर्थिक अवस्था नभएकाले त्यो म कसरी पढौँला चिन्ता भने अहिले नै लाग्न थालेको छ।
दलित समुदायका सागरको घरको आर्थिक अवस्थामा राम्रो छैन। सागरले तयार गरेका सामग्रीलाई पालिकाले प्रर्दशनी गर्ने योजना बनाउनु भएको छ। नन्देश्वरी माध्यमिक विद्यालयले सीटीईभिटी सम्बन्धमा प्राविधिक विषय पढाउन थालेको छ।
सागरको जस्तो प्रतिभा भएका विद्यार्थीलाई पालिकासँग समन्वय गरेर सहयोग गर्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिरेण्ड भट्टराईले बताउनु भयो। विद्यालयले प्रतिभावान विद्यार्थीका लागि सहयोग कोष स्थापना गर्न पहल गर्ने भट्टराईले जानकारी दिनु भयो। विज्ञान र प्रविधिमा रूचि राख्ने १६ वर्षका सागर जिज्ञासु स्वभावका रहेको विद्यालयका प्रिन्सिपल कुल बहादुर रावलले बताउनु भयो।
सागर प्राविधिक विषय हेरेको भरमा नै बनाउन सक्छन्। बिजुलीको वाइरिङ समेत सागरले हेरेकै भरमा सिक्नु भएको छ। कुनै पनि स्रोत बिना गाडी समेत मुस्किलले देख्न पाइने ठाउँमा बनाएका उपकरण देखेर विद्यार्थी, शिक्षक तथा अभिभावक पनि खुसी देखिएका छन्।