धनगढीः अछाम क्षेनं १ ख बाट प्रदेश सभा निर्वाचित आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहरालाई प्रधानमन्त्री एवंम् नेकपा अध्यक्ष केपी ओली समूहले केन्द्रीय सदस्यमा मनोनित गरेको छ।
हालै काठमाडौँमा सम्पन्न नेकपा ओली समूहको बैठकले बोहरालाई केन्द्रीय सदस्यमा मनोनित गरेको भएपनि उनी अहिलेसम्म मौन छन्।
ओली समूहमा लागेका उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टका निकट मानिने बोहराले कित्ता क्लीयर नगरेका बेला उनलाई ओली समूहले केन्द्रीय सदस्यमा मनोनित गरेको हो।
तर बोहराले अहिले नै केन्द्रीय सदस्य स्वीकार गरेको अवस्था छैन्। न उनले त्यो जिम्मेवारी अस्वीकार गर्न सकेका छन।
मंगलबार मुख्यमन्त्री त्रिलोचन भट्टले ओली समूहका भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरालाई पदमुक्त गरे। तर केन्द्रीय सदस्यमा मनोनित भइसकेका अर्थमन्त्री बोहरालाई भने यथावत नै राखेका छन्।
‘बोहरालाई पनि आफ्नो समूहमा तान्न सकिन्छ की भन्ने मनसायले मुख्यमन्त्रीले त्यो जोखिम उठाउनुभएन,’ एकजना प्रदेशसभा सदस्यले भने,‘तर उद्योग वाणिज्य मन्त्री भट्ट निकट रहेका बोहराले ओलीलाई साथ दिन बताइसकेका छन्।’
तर अर्थमन्त्री बोहराले भने अहिले पनि आफू पार्टी एकताकै पक्षमा रहेको बताउँने गरेका छन्। ‘यो समूह त्यो समूह भन्नेतीर मेरो ध्यान छैन्,’ कुरा गर्दै बोहराले भने, ‘अहिले पनि म पार्टी एकताकै पक्षमा छु। भोली त्यस्तो परस्थिती बनिहाल्यो भने पार्टीमा कुनै न कुनै खेमामा उभिने कुरा त छदैछ।’
तर मुख्यमन्त्री त्रिलोचन भट्टलाई प्रचण्ड–नेपाल समूहले बोहरालाई पनि पदबाट हटाउन दबाब दिइरहेको छ। बोहराले मुख्यमन्त्रीसँग कित्ता क्लीयर गर्न समय मागेकाले मंगलबार नै उनलाई पदमुक्त नगरिएको बताइन्छ।
स्रोतका अनुसार प्रचण्ड–नेपाल खेमामा खुलेर लागेपछि मात्र बोहराको पद सुरक्षित रहने तर ओली पक्षतीर लागेमा बोहरा पनि पदमुक्त हुने निश्चित रहेको छ।