लण्डन : भारतीय स्वतन्त्रतावादी नेता महात्मा गान्धीको चस्मा लिलाम बढाबढबाट चार करोड आठ लाख रुपैयाँमा विक्री भएको छ ।
बेलायती लिलाम गर्ने एक कम्पनीले गान्धीको चस्मा एक अमेरिकी सङ्ग्रहकर्तालाई विक्री गरेका हुन् । ईस्ट ब्रिस्टल अक्शन्श लिमिटेडका अनुसार अगस्ट महिनाको ३ तारिखमा एउटा साधारण खामभित्र कुनै व्यक्तिले छोडेको अवस्थामा उक्त चस्मा फेला पारिएको थियो।
बीबीसीमा प्रकाशित समाचार अनुसार उक्त चस्मा लगभग ५० वर्षसम्म दराजभित्रै थन्किएर रहेको थियो । चस्माको स्वामित्व ब्रिस्टलको म्यानगस्ट्सफील्डका एक वयोवृद्धसँग थियो । उनले लिलामीबाट यति ठूलो रकम आउनसक्ने अनुमान नै नगरेको बताइन्छ ।
समाचार अनुसार लिलामीमा राख्ने व्यक्तिले काम नलाग्ने भन्दै फालिदिन पनि खोजेका थिए । तर अकल्पनीय रकम आउने भएपछि उनले यो चस्माबाट आउने रकम छोरीसँग बाँड्ने प्रतिक्रिया दिए ।
एउटा पत्रमन्जुसामा चस्मा भेटिएको र उक्त चस्माबारे खोजी तथा परीक्षण गरिएको बताइएको छ । चस्मा पुरानो र सुनको जलप लगाइएको भेटिएपछि पनि उक्त चस्मा गान्धीको भएको यकिन भएको थियो । साथै चिठीको खामभित्र भेटिएको उक्त चस्मासँगै गान्धीको चस्मा भएको व्यहोरा लेखिएको पत्र समेत लेखिएको बताइएको छ ।