Advertisement
SKIP THIS
धनगढीमा अस्पताल खोल्ने भन्दै चर्च निर्माण

धनगढीः कैलालीको धनगढीमा अस्पताल खोल्ने भन्दै चर्च निर्माण गरिएको छ। धनगढी उपमहानगरपालिका–७ मनेहरामा छालाको अस्पताल खोल्ने भन्दै चर्च निर्माण गरिएको हो।जग्गा धनी प्रभाकर भण्डारीबाट १५ वर्षका लागि जमिन लिजमा लिएर चर्च निर्माण गरिएको छ। लेट मेइन धनगढी प्रालि नामक संस्था नै खडा गरेर साढे चार कट्ठा जग्गा लिजमा लिइएको छ। तर सेमिनार र तालिम चलाउने भन्दै वडा कार्यालयबाट इजाजत लिएर सो भवनमा नेपाल लाइफ वर्ड मिसनले अहिले चर्च चलाएको छ। चर्चमा इसाई रिलिजन प्रचार गर्न दुई जना कोरियन नागरिक समेत संलग्न रहेको पाइएको छ।भवन निर्माणको काम करिब ९ महिनामा सिध्याएर असार १५ गतेदेखि ‘नेपाल लाइफ वर्ड मिसन’ ले धनगढी मण्डली सञ्चालनमा ल्याइएको छ। छालाको अस्पताल खोल्ने भन्दै स्थानीयलाई झुक्याएर आलिसान चर्च भवन निर्माण गरेर संगति लाग्न थालेपछि स्थानीयले थाहा पाएका हुन।

साढे चार कट्ठा जग्गा १५ वर्षका लागि लिजमा लिएर अस्पताल बनाउने भन्दै हाल चर्च चलाइएको चर्च नजिकै घर भएका विमल पाण्डेले बताए। स्थानीयलाई जानकारी नै नदिएर रातारात समुदायमा चर्च बनेको र यो बन्द गर्नुपर्ने हाम्रो माग छ।’ उनले भने, ‘इसाईको बसोबास नभएको समुदायमा यसरी झुक्याएर चर्च खोल्नु त भएन भन्ने हाम्रो माग छ।’

मोतिचोकमै घर भएका रणबहादुर बोहराले भवन बनाउँदा १० पटकसम्म गएर सोधपुछ गर्दा चर्च बन्न लागेको कुरा लुकाइएको बताएका छन्। उनले आर्थिक अवस्था र चेतनाको स्तर कमजोर भएका व्यक्तिलाई आर्थिक र स्वर्ग जाने प्रलोभन देखाएर धर्म परिवर्तन गर्न समुदायमा चर्च खोलिएकोले बन्द गर्नुपर्ने बताए।

यस्तै भवन बन्न लाग्दा छालाको अस्पताल बन्दैछ भनेर वडाअध्यक्ष मोति रानाले समेत झुठो बोलेको स्थानीय राजेन्द्र चन्दले गुनासो गरेका छन्। उनले भवन भन्दै गरेको देखेपछि काम गर्नेहरूले केही कुरा नबताएपछि वडामा बुझ्न जाँदा अध्यक्ष रानाले छालाको अस्पताल बन्ने लागेको भन्दै झुठो बोलेका हुन्।

तपाईको प्रतिक्रिया