काठमाडौं: शनिबार (माघ ३) मा बसेको नेकपा (एमाले) को सचिवालय बैठकले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अधिकांश क्षेत्रमा पार्टीका उमेदवार टुंग्याएको छ । तर, शनिबारको उक्त बैठकबाट एमालेका चर्चित नेताहरूले नै टिकट पाएनन् ।
एमालेको ११औँ महाधिवेशनमा अध्यक्षमा केपी शर्मा ओलीलाई चुनौती दिएका ईश्वर पोखरेलको टिकटबारे निर्णय भएन । उनी काठमाडौं- ५ बाट चुनाव लड्दै आए पनि सो क्षेत्रमा एमालेले उमेदवार छान्न बाँकी राखेको छ ।
त्यस्तै ११औँ महाधिवेशनमा पोखरेल प्यानलबाट महासचिवमा प्रतिस्पर्धा गरेका सुरेन्द्र पाण्डेलाई पनि टिकट दिइएको छैन । त्यस्तै उपमहसचिव योगेश भट्टराईको निर्वाचन क्षेत्र ताप्लेजुङमा भने उमेदवारबारे निर्णय भएन । त्यहाँ अध्यक्षले टुंग्याउने भनिएको छ ।
त्यस्तै काठमाडौंबाट लड्दै आएका कृष्णगोपाल श्रेष्ठ, पाल्पाबाट लड्दै आएका ठाकुर गैरे, काभ्रेबाट गोकुल बास्कोटा तथा मोरङका विनोद ढकालको नाम पनि एमालेले टुंग्याएका उमेदवारको सूचीमा छैन ।









