ध्वज बहादुर कुँवर
- नेपाली कांग्रेसमा आस्तावनका लागि अवसर की चुनौती
शैलजा दिदीले भन्नुभयो, म महिला होइन, कांग्रेस हुँ । कुरा ०५१ सालकाे हो, मध्यावधि चुनावको घोषणा भैसकेको थियो । नेपाली कांग्रेसका नेता कार्यकर्ताहरु चुनावको टिकटका लागि राजधानीमा एकत्रीत हुंदै थिए। मेरो भेट उमेश गिरिजी संग भयो । उहांले मलाई भन्नु भयो, “मित्र यस पाली दिदीलाई चुनाव लड्न विराटनगर नजानु भन्नु होला । त्यहा दिदीलाई भोट हाल्दैनन् । उहाँले कारण खुलाउँदै भन्नु भयो दिदी विराटनगर आउनु हुँदा त्यहांका महिलाहरुले एउटा कार्यक्रमको आयोजना गरेका थिए ।
दिदीलाई उद्घाटनका लागि निमन्त्रणा दिन गए, महिला संघको कार्यक्रम उद्घाटन गर्न भनी भन्दा दिदीले ति महिलालाई भन्नु भयो, म महिला होइन । महिलाहरूमा निकै असन्तोष छ, दिदी प्रति । त्यसैले उहाँलाई विराटनगरमा भन्दा कुनै अर्को ठाउबाट चुनाव लडन भन्नु होला भनेको कुरा मैले दिदीलाई सुनाए” दिदीले भन्नु भयो, हो मैले भनेको हुँ । जहाँसम्म म महिला हुँ भन्ने प्रसंग छ – त्यो आग्रह हो, त्यो वर्ग भेद हो। जस्तै, म यो जात, म त्यो जात भन्नु भन्दा म नेपाली हो, भन्ने भावनाको विकास हुदैैन तवसम्म राष्ट्रिय भावना जागृत हुन सक्दैन । कांग्रेसी वन्न त्यति सजिलो छैन । आफू म वाहुन हुँ भन्ने सोचेका भए पिता कृष्णप्रसाद कोइराला श्री ३ मोहन सम्सेरका विरुद्ध जान सक्ने कुरै आउने थिएन ।
दिदीको भनाईलाई संम्झिदा मलाई लाग्यो, आफू महिला हुँ भनेेर सोचेको भए, २०१७ सालमा राजा महेन्द्रको कदमको विरोध गर्नु सजिलो थिएन । तर उहाँले आफ्नो जिउ-ज्यानको पर्वाह नगरी राजाका विरुद्ध कालो झण्डा प्रदर्शन गरिन । यस घटनाले विश्व रंगमञ्चमा राजाको कदमको स्वागत मात्र होइन विरोध पनि भैराखेको कुरा अवगत गरायो। नेपाली कांग्रेसको संघर्षको इतिहासमा शैलजा दिदीले उठाउनु भएको जोखिम अविस्मरणीय रहेको छ । भर्खरै सम्पन्न भएको विशेष महाधिवेशनको उद्घाटन भाषणमा महामन्त्री गगन थापाले भन्नु भयो, म संग वि.पी.को विचार र गणेशमान जी को साहस छ, यो भनाई घतलाग्दो मात्रै होइन, यो ऐतिहासिक वन्ने पक्का छ ।
वि.पी. ले आफ्नो नातालाई सोच्ने गरेका भए आफ्नो दाजु मातृका प्रसाद कोइरालाका विरुद्ध जान सकिदैनथ्यो। गणेशमान जीले तात्कालीन व्यवस्थालाई चुनौति नदिएका भए नेपालमा प्रजातन्त्रको स्थापना हुन सक्ने थिएन। आजको सन्दर्भमा नेेपाली कांग्रेसलाई यथास्थितिमा राखिराख्दा यस्को मौलिक स्वरुपमा समास्या उत्पन्न भैसकेको थियो । नेपाली कांग्रेस आफ्नो बलबुतामा नभै कम्यूनिष्टहरुको सहारामा हिड्ने अभ्यास गर्दै थियो। जनता भन्दा पनि सत्ता मोहमा फसीसकेको सोचलाई छिटो भन्दा छिटो बदल्नु थियो । हेक्का रहोस! आजको नेपालको राजनीतिमा नत राजसंस्था छ । न त जनताको विश्वास छ । यो मध्ये आकासमा रहेको राजनीतिको जहाजको सफल अवतरण गर्न नेपाली कांग्रेसको विषेश महाधिवेशनले मार्ग प्रशस्त गरोस। शुभकामना ।।।









