काठमाडौं:काठमाडौंको एक लजको कोठाभित्र गोप्य रूपमा भिडिओ रेकर्ड गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
काठमाडौं महानगरपालिका(३ बाँसबारीस्थित बाँसबारी रेष्ट्रो क्याफे एन्ड लजका म्यानेजरलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए।
काठमाडौं चन्द्रागिरि(१५ का क्याफे म्यानेजर ४२ वर्षीय मुकेश मालीलाई पक्राउ गरेको हो।
बुधबार दिउँसो उक्त लजमा बस्न आउने पाहुनाको गोप्य रूपमा भिडिओ रेकर्ड गरेको भन्ने सूचना प्रहरीले पाएको थियो। उक्त सूचनापछि महाराजगन्जबाट खटिएको टोलीले चेक गर्दा उनले गोप्य भिडिओ खिचेको खुलेको हो।
‘कोठामा एउटा सानो प्वाल बनाएको रहेछ। त्यहाँबाट खिच्ने गरेको खुल्यो,’ उनले भने। उनले हरेक कोठाको ढोकामा प्वाल बनाएको खुलेको हो।
प्रहरीले उनको मोबाइल फोन पनि बरामद गरेको छ। जसमा विभिन्न व्यक्तिहरूको रेकर्ड गरिएका भिडिओ फेला परेको छ।
घटनाको विस्तृत अनुसन्धान गर्न प्रहरीले उनको फोन प्रहरी प्रधान कार्यालयको डिजिटल फरेन्सिक ल्याबमा पठाएको छ।
उनलाई पक्राउ गर्न जाँदा फोनमा भएका कतिपय भिडिओहरू पनि डिलिट गर्न भ्याएको प्रहरीले जनाएको छ।
‘यसको विस्तृत अनुसन्धानको लागि ल्याबमा पठाएका छौं। कतिको त डिलिट समेत गरेको देखियो। तर यसमा उनले अरू कता कता भिडिओहरू पठाएरपठाएनन् भन्ने अनुसन्धान गर्दैछौं,’ उनले भने,‘यसमा त्यहाँ अरूको संलग्नता छरछैन पनि बुझिरहेका छौं।’
मालीमाथि मुलुकी अपराध संहिता २०७४ को परिच्छेद(५ को ‘सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरूद्धका कसूर’ अन्तर्गत दफा ११८ ‘अभद्र व्यवहार गर्न नहुने’ मुद्दामा म्याद थप गरेको छ।
उनलाई जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट ५ दिन हिरासतमा राख्न अनुमति पाएको छ। यसको अनुसन्धान प्रहरी वृत्त महाराजगन्जले गरिरहेको छ।










