Advertisement
SKIP THIS
ओलीका कारण एमालेमा जन्मियो तेस्रो धार , को को छन

औपचारिक विभाजनमै पुगिसकेको नेकपा एमालेमा बिहीबारदेखि तेस्रो धारको जन्म भएको छ । तेस्रो धारका ९ जना नेताहरुले विहीबार राति अबेरसम्म बैठक गरेर विज्ञप्तिमार्फत आफ्नो पोजिसन स्पष्ट पारेका छन् । उनीहरुले शुक्रबार आफ्नो समूहका केन्द्रीय सदस्यहरुसँग थप छलफल गरेर लाइन स्पष्ट पार्ने निर्णयसमेत गरेका छन् ।

माधव नेपालले बुधबार नेकपा एमाले (समाजवादी) पार्टी बनाएर निर्वाचन आयोगमा आवेदन दिएपछि उनलाई साथ नदिएका तर ओली पक्षमा पनि लाग्न नसकेका मध्यमार्गी नेताहरुले तेस्रो धार जन्माएका हुन् ।

तेस्रो धारका नेताहरुमा भीम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, योगेश भट्टराई, भीम आचार्य, गोकर्ण विष्ट, रघुजी पन्त र सुरेन्द्र पाण्डे छन् ।

यही समूहमा रहेकी अष्टलक्ष्मी शाक्य बागमती प्रदेशको मुख्यमन्त्री बनेकी छिन् ।

तेस्रो धारका नेताहरुको बटमलाइन यस्तो छ-

एक– कार्यदलले तयार पारेको १० बुँदे सिफारिस नै एकताको आधार थियो जसलाई नेताहरुले आत्मसात गरेनन् ।

दुई– सरकारले ल्याएको दल विभाजन सम्बन्धी अध्यादेश गलत छ, यो तत्काल फिर्ता लिइनुपर्छ ।

तीन– १४ सांसदलाई पदमुक्त गर्ने ओली पक्षको निर्णय फिर्ता लिइनुपर्छ ।

चार– निर्वाचन आयोगमा अलग दल दर्ताका लागि दिइएको निवेदनबाट माधव नेपाल पक्ष ‘ब्याक’ हुनुपर्छ ।

बालकोटले ‘बाल’ दिएन

माधव नेपाल पक्षका १४ सांसदलाई पार्टीबाट निष्काशन गरिएपछि निर्वाचन आयोगमा नेकपा एमाले समाजवादी पार्टी दर्ताको तयारी हुँदै गर्दा केपी ओली पक्षका युवा नेता शंकर पोखरेलले अध्यक्ष केपी ओलीसँग वार्ता गरेका थिए ।

नेपाल पक्षलाई कारबाही गरेर अगाडि जाने भन्दा पनि दुई अध्यक्षतात्मक प्रणालीमा गएर १० बुँदेलाई कार्यान्वयन गरौं र एकताको वातावरण बनाऔं भन्ने प्रस्ताव पोखरेलले ओलीसँग राखेका थिए । तर, ओलीले पोखरेलको प्रस्ताव मान्न नसकिने बताएका थिए ।

पोखरेलको प्रस्ताव ओलीले नमानेपछि माधव नेपाल निर्वाचन आयोगमा गएकै दिन बुधबार बेलुका उपमहासचिव घनश्याम भुसाल ओली निवास बालकोटतिर लागे । बालकोटमा भएको वार्तामा नेता भुसालले १० बुँदेको अक्षरशः पालना गर्न, माधव पक्षका १४ सांसद माथि भएको कारवाही फिर्ता लिन र दुई अध्यक्षतात्मक प्रणालीमा गएर एकतालाई जोगाउन प्रस्ताव गरे ।

तर, ओलीले १० बुँदे कार्यान्वयनमा सोलोडोलो सहमति जनाए पनि दुई अध्यक्ष र कारवाही फिर्ता अमान्य भएको बताएपछि ओली–भुसाल वार्ता असफल भएको एक नेताले बताए ।

१४ सांसदमाथि गरिएको कारवाही फिर्ता लिनुको साटो केपी ओलीले विहीबार एक सार्वजनिक कार्यक्रममा सभामुखको चर्को आलोचना गर्दै पद रिक्तताको सूचना चाँडो प्रकाशित गर्न दबाव दिए । विशाल भट्टराई लगायतको टोलीले सभामुखलाई भेटेरै १४ भाइको कारवाही चाँडो सदर गर्न दबाव दिए ।

तपाईको प्रतिक्रिया