भक्तराज देवकोटा टीकापुर:मध्य रात थियो, जनता रोग र भोकले मृत्युशैयामा छट्पटी रहेको डरलाग्दो महामारीको भयावह अवस्थामा जनता खोप, अस्पताल, औषधि, वेड, अक्सिजन, ICU, Ventilator नपाएर छटपटाई छटपटाई दैनिक दुई सय भन्दा बढीले ज्यान गुमाउनु परेको बेला सत्ताको किन अपराधिकरण भयो ? अत: यस्तो महामारी बेला किन चाहिएको छ महाराज महारानीलाई चुनाव आउनुहोस् प्रश्न गरौं ?
जसले कर खान्छ, उसको आलोचना हुन्छ । आलोचना आउँदा पिर लाग्छ भने दुइटा मात्र उपाय छन् – एक, राम्रो काम गर्ने । दुई, राम्रो गर्न सकिँदैन भने कुर्सी छोड्ने ।
तर, अहिलेका शासकहरू यी दुई विकल्पतिर नलागी सधैँ तेस्रोतिर मात्र लीन छन् । नागरिकले आफ्नो पेट काटेर, मरुभूमिमा मरेर बुझाएको साधनस्रोतमा रजाइँ गरेर, बालुवाटारमा बसेर तिनै नागरिकलाई गालीगलौज गर्ने, अपमान गर्ने, थर्काउने, धम्क्याउने अधिकार कोही पनि शासकलाई छैन । घर बिग्रियो भने अपजस सबैभन्दा ठूलो मालिकलाई अर्थात् घरमूलीलाई जान्छ, ससाना सदस्यलाई सत्तोसराप गर्नु राजनीतिक निरक्षरता हो ।
आफूले औपचारिक गरिमामय सार्वजनिक शपथ समारोहमा प्रधानमन्त्रीबाटै ‘त्यो पर्दैन’ भन्ने अपमानजनक भनाइ खाने, उल्टै हिँहिँ गरेर हाँस्ने अनि मलाई सम्मान पुगेन भनेर ओलीलाई भन्न लगाउने ? राष्ट्रपति र प्रधानमन्त्रीलाई कस्तो सम्बोधन, सम्मान, आदर चाहिएको हो ? कृपया अध्यादेश जारी गरियोस् ।
केन्द्रीकृत र एकात्मक शासनले समानुपातिक विकास भएन, सरकार गाउँगाउँमा हुनुपर्छ भनेर संघीयता ल्याइयो । संघीयताको घाँटी निमोठ्ने हत्यारा को हो ? बालख संघीयताको घाँठी निमोठ्ने शासकलाई हामीले कान पनि ननिमोठ्दै उल्टै प्रश्नकर्ता नागरिकलाई हेप्ने ? निरीह र निर्धा करदाता नागरिकलाई नै सत्ताको कुर्सीबाट गालीगलौज दिने ? प्रदेश सरकारहरूलाई कसले पंगु बनाइरहेछ ? स्थानीय सरकारहरूलाई कसले हेपिरहेको छ ?
जननिर्वाचित थलो संसद्लाई पटकपटक हत्या गर्ने, सांसदलाई अपहरण गर्ने, बन्धक बनाउने, पार्टी फोड्ने जस्ता गन्जागोल र दादागिरी कसले गर्यो ? शान्ति, अमनचैन, सुव्यवस्थाको ठेक्का लिएको, अभिभावक भनिएको ओली सरकार कसरी देश र देशवासीको रक्षक ? भक्षकको व्यवहार मात्र गर्नेलाई रक्षक भनिँदैन ।
नागरिकहरू दिनैदिनै मरिरहेछन् । खासमा सरकारद्वारा मारिइरहेछन् । सरकारको कार्यशैलीले मरिरहेका छन् । यिनलाई मर्न कसले उक्सायो ? गालीगलौजमा कसले आमसभा गरिरह्यो ? राममेला र टावर मेलामा सामाजिक दूरी थियो ? कोरोना केही होइन, म नै हुँ डाक्टर, म नै हुँ वैज्ञानिक, म नै अनुसन्धाता हुँ भन्दै कसैको क्वोट चाहिँदैन भनेर संसद्मै पाखुरा सुर्किने केपी कम्पनी यो सब मृत्युको जिम्मेवार होइन ?
कर तिर्ने गरिब नागरिक न्यूनतम स्वास्थ्यसेवा समेत नपाई मारिने अनि कर खाने केपी कम्पनी चाहिँ आफ्नो सानोभन्दा सानो उपचारमा करोडौँ स्रोत सक्ने, आसेपासेहरूलाई बाँड्ने ? केपी कार्यकालमा कति सरकारी स्वास्थ्य संरचना थपिए ? फ्रन्टलाइनर्सको भत्तासमेत रोक्ने यो केपी सत्ताले कोभिडमा के गर्यो ? समाजवादको नारा लगाउने, कम्युनिस्ट हुँ पनि भन्ने अनि शिक्षा र स्वास्थ्यको चरम नाफाकरण झनै बढाउने केपी ओली कसरी समाजवादी, कसरी कम्युनिस्ट, कसरी लोकतान्त्रिक ?
डेढ वर्षदेखि नेपाली जन कोभिड-१९ को चक्रव्यूहमा छन् । आधा जनसंख्यासित कुनै बचत र कमाइ छैन । गरिबी झनै बढेको छ । भोकाहरू बढेका छन् । सूर्यबहादुर तामाङहरू भोकले मारिएका छन् । राहतका कार्यक्रम खै कति ल्यायो यो सरकारले ? यी गरिबमाराहरूलाई शासक भन्ने कि शोषक ?
अन्त्यमा;
संसद विघटनको कदम संविधान र लोकतन्त्रको हत्या गरी अधिनायकवादी शैलीमा शासन सत्ता संचालन गर्ने ओली र भण्डारीको पुरानै आकाङ्क्षाको सुनियोजित निरन्तरता हो।
सर्वोच्च अदालतले संसद विघटनबारे यसअघि जस्तै यस पटक पनि संवैधानिक सर्वोच्चता र लोकतन्त्रको पक्षमा फैसला होस् !
कोभिड-१९ ले मुलुक आक्रान्त भएको बेला औषधी, अक्सिजन, अस्पताल-शैया नपाएर नागरिकहरू रोइरहेका बेला कोरोना विरुद्धको खोप सरकारको पहिलो प्राथमिकता हुनुपर्नेमा निर्वाचनको घोषणा गर्नु मानवीय संवेदनाहीन क्रूरता हो।
अघिल्लो पटक संसद विघटन हुँदा विरोधको एकै स्वर बोलेका प्रतिपक्षी दलहरू ओलीलाई अविश्वासको प्रस्तावबाट हटाउन के कति स्वार्थले एक ठाउँ उभिन सकेनन्? ओली र भण्डारीको सर्वसत्तावादबाट मुलुकलाई जोगाउन विपक्षी दलहरू पनि कहाँ कहाँ र कसरी चुके ? आउँनुहोस्, यतापट्टी पनि प्रश्न गरौं !